ललितपुर, जेठ १९ । ललितपुरको गोदावारी नगरपालिका वडा नं. ०२ स्थित बिशङ्खुनारायण सामुदायिक वन क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।
विगत एक हप्तादेखि सो क्षेत्रमा भाडाको कार (ट्याक्सी) प्रयोग गरी लागु औषध ओसारपसार भइरहेको भन्ने सशस्त्र प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी प्रभाग बाडेगाउँ र सशस्त्र प्रहरी बल नेपाल नं. २१ गण मुख्यालय दक्षिणकाली, ललितपुरको संयुक्त टोली परिचालन गरिएको थियो। टोलीले लुकाई-छिपाई बिक्री वितरणका लागि राखिएको अवस्थामा बा.प्र. ०१ ००२ ज ८८६३ नम्बरको ट्याक्सी र २१,०६४ पत्ता (जम्मा २,१०,६४० ट्याब्लेट) प्रतिबन्धित ‘Tramadol Hydrochloride’ क्याप्सुल बरामद गरेको हो। लागु औषध ओसारपसार र बिक्रीमा संलग्न रहेको आरोपमा ट्याक्सी चालक काभ्रे चौंरीदेउराली गाउँपालिका-०१ भई हाल चाँगाथली बस्ने ३८ वर्षीय सन्त बहादुर तामाङ र गोदावारी नगरपालिका-०४ बस्ने २७ वर्षीया अस्मिता बम्जनलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित प्रहरी वृत्त सातदोबाटोमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




