काठमाडौं, जेठ २१ । एक पोल्याण्डका आरोहीसँग सगरमाथा आरोहणमा गएका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) गत जेठ १५ गते शुक्रबार तेस्रो शिविर (क्याम्प ३) आसपासबाट सम्पर्कविहीन भएका थिए।
हेलिकप्टर सहितको व्यापक खोजी गर्दा समेत फेला नपरेका शेर्पालाई एक सातापछि बिहीबार बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीहरूले खुम्बु आइसफलको ‘क्रेम्पोन पोइन्ट’ नजिकै गम्भीर अवस्थामा फेला पारेका हुन्।
अत्यधिक चिसो र हिउँका कारण हातखुट्टा प्रभावित (फ्रोस्टबाइट) भई आधार शिविरतर्फ घिस्रिरहेको अवस्थामा भेटिएका उनलाई तत्कालै प्राथमिक उपचार दिई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पताल ल्याएर थप उपचार सुरु गरिएको छ। सगरमाथाको कडा र प्रतिकूल मौसममा पनि एक हप्तासम्म बाँचेर जीवितै उद्धार भएको यस घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले एक अभूतपूर्व चमत्कारका रूपमा लिएका छन्।




