काठमाडौं, जेठ २९ । गृहमन्त्री सुदन गुरुङले उपचारमा लापरवाहीका कारण मृत्यु भएको भनिएकी एक महिलाका परिवारसँग भेट गर्दै दोषीमाथि कडा कारबाही गर्ने आश्वासन दिनुभएको छ। आफ्नी दिवङ्गत पत्नीका लागि न्यायको माग गर्दै विगत तीन महिनादेखि काठमाडौँमा आन्दोलन गरिरहेका चितवनको रत्ननगर नगरपालिकाका सुजन विकले बिहीबार सिंहदरबारमा गृहमन्त्रीलाई भेटेर आफ्नो ध्यानाकर्षण गराउनुभएको हो।
आफ्नो नवजात शिशुलाई काखमा लिएर मन्त्रीसमक्ष न्यायको अपील गर्दै सुजनले सुत्केरी अवस्थामा अस्पतालको गम्भीर लापरवाहीका कारण आफ्नी श्रीमतीको मृत्यु भएको आरोप लगाउनुभयो। पर्याप्त हेरचाह र उपचार नपाउँदा आफ्नो परिवारले आमा गुमाउनु परेको र शिशुको भविष्य समेत अनिश्चित बनेको उहाँले बताउनुभयो।
पीडित परिवारको दर्दनाक अवस्थाबाट भावुक बन्दै गृहमन्त्री गुरुङले उनीहरूको समस्या सुन्नुभयो र घटनाको निष्पक्ष एवं गम्भीर छानबिन गर्ने प्रतिबद्धता जनाउनुभयो।
“राज्य आफ्ना नागरिकको अभिभावक हो। अस्पतालको लापरवाहीका कारण कसैले ज्यान गुमाउनु परेको हो भने यो अत्यन्तै दुःखद कुरा हो। यस घटनाको गहिराइमा पुगेर अनुसन्धान गरिनेछ र दोषी पाइएका जोकोहीलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनेछ,” मन्त्री गुरुङले भन्नुभयो।
भेटघाट लगत्तै मन्त्री गुरुङले मन्त्रालयका अधिकारीहरूलाई तुरुन्तै एक छानबिन समिति गठन गर्न र घटनाको सत्यतथ्य चाँडोभन्दा चाँडो पत्ता लगाउन निर्देशन दिनुभएको छ।




