काभ्रे, जेठ २९ । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन विष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा परी घाइते भएका १५ जनालाई प्रहरी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलको उद्धार कार्य सम्पन्न भइसकेको छ भने दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेकाले यसबारे थप अनुसन्धान भइरहेको छ। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।




