काठमाडौं, असार २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराई सवार गुडिरहेको कारको झ्यालबाट शरीर बाहिर निकालिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सार्वजनिक पदमा रहेका जिम्मेवार व्यक्तिबाटै सडक सुरक्षालाई चुनौती दिने गरी भएको यस व्यवहारको चौतर्फी आलोचना सुरु भएको छ।
फेसबुक र अन्य सञ्जालमा फैलिएको उक्त भिडियोमा सांसद भट्टराई कारको अगाडिको सिटमा बसेको अवस्थामा विन्डसिट (झ्याल) बाट आफ्नो शरीरको केही भाग बाहिर निकालेर यात्रा गरिरहेको देखिन्छ। गुडिरहेको गाडीमा यसरी यात्रा गर्नु सडक सुरक्षा र व्यक्तिगत ज्यानका हिसाबले अत्यन्तै जोखिमपूर्ण मानिन्छ।
सञ्जाल प्रयोगकर्ताहरूले यो दृश्यलाई ‘लापरबाहीको पराकाष्ठा’ भन्दै ट्राफिक प्रहरीलाई ट्याग गरेर कानुनी कारबाहीको जोडदार माग गरेका छन्। सर्वसाधारणले यसअघि धरानका मेयर हर्क साम्पाङलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सवारी नियम उल्लङ्घन गरेको कसुरमा जरिवाना तिराएको नजिर सम्झाएका छन्। “कानुन सबैका लागि बराबर हुनुपर्छ, नियम मिच्ने सांसदलाई पनि मेयर साम्पाङलाई जस्तै कारबाही गरियोस्,” सञ्जालमा नागरिकहरूको साझा आवाज सुनिन्छ।
ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा शरीरका अङ्ग बाहिर निकाल्न नहुने भन्दै निरन्तर सचेतना फैलाउँदै आएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार यसरी लापरबाहीपूर्वक र असुरक्षित रूपमा यात्रा गर्नु गैरकानुनी हो, जसअन्तर्गत जरिवाना र कारबाहीको स्पष्ट व्यवस्था छ। नियम मिच्ने भीआईपीमाथि ट्राफिक प्रहरीले अब कस्तो कदम चाल्छ, त्यो भने हेर्न बाँकी छ।




