काठमाडौं, असार ३ । ३८ वर्षीय लियोनल मेस्सीको कीर्तिमानी ह्याट्रिकको मद्दतले साविक विजेता अर्जेन्टिनाले विश्वकपको समूह ‘जे’ को आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३-० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ।
विश्वकपमा आफ्नो पहिलो गोल गरेको ठीक २० वर्ष पुगेकै दिन मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको सर्वकालीन सर्वाधिक १६ गोलको कीर्तिमानसँग बराबरी गर्नुका साथै इतिहासमै छ वटा फरक विश्वकप खेल्ने पहिलो खेलाडी र विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडीको इतिहास रचेका छन्।
खेलको पहिलो हाफमा दुवै टोलीको १-१ गोल अफसाइडका कारण रद्द भए पनि दोस्रो हाफको ६०औँ मिनेटमा अल्जेरियन गोलकिपरको गल्ती र ७६औँ मिनेटमा पेनाल्टी बक्स बाहिरबाट मेस्सीले गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले ऐतिहासिक जित निकाल्दै पूर्वविजेताका रूपमा आफ्नो पहिलो खेल हार्ने पुरानो खराब रेकर्ड समेत सुधारेको छ।


