चितवन, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको विद्युतीय मतदान बिहीबार दिउँसो १२ः३० बजे सम्पन्न भएको छ। बुधबार राति १२ बजेदेखि सुरु भएको मतदानमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए।
सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्यका लागि मतदान भएको हो। सभापति लामिछानेले मतदान गरेसँगै पहिलो चरणको मतदान प्रक्रिया सम्पन्न भएको हो।
मतगणना सकिएपछि नवनिर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन प्रक्रिया सुरु हुने निर्वाचन आयोगले जनाएको छ।




