काठमाडौं, असार १४ । काठमाडौँको बुढानीलकण्ठ स्कुलमा अध्ययनरत एक बालिकामाथि मानसिक तथा शारीरिक दुर्व्यवहार भएको आरोपबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरी वृत्त महाराजगञ्जमा दर्ता भएको जाहेरीका आधारमा सम्बन्धित व्यक्तिहरूसँग बयान लिने र प्रमाण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
पीडित बालिकाकी आमाका अनुसार, छात्रावासमा आफूभन्दा ठूला विद्यार्थीहरूले ‘हरर फिल्म’ देखाएपछि बालिका मानसिक रूपमा त्रसित बनेकी थिइन्। सो पश्चात् आवश्यक परामर्श दिनुको साटो विद्यालयका दुई शिक्षिकाले उल्टै मानसिक तथा शारीरिक दुर्व्यवहार गरेको आरोप परिवारले लगाएको छ।
जाहेरीसँगै कान्ति बाल अस्पतालको स्वास्थ्य प्रतिवेदन पनि पेश गरिएको छ, जसमा बालिकालाई ‘डिस्सोसिएटिभ डिसअर्डर’ (जसका कारण पटक–पटक बेहोस हुने र शरीरका अंग नचल्ने समस्या) देखिएको उल्लेख छ। यसअघि राष्ट्रिय बाल अधिकार परिषद्मा समेत यसबारे उजुरी गरिएको थियो। प्रहरीले आरोपित पक्षसँग सोधपुछ भइरहेको र प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने जनाएको छ।




