काठमाडौं, असार १६ । काठमाडौंको वनस्थली क्षेत्रमा आफूलाई प्रहरी बताउँदै धम्की दिएर लुटपाट गर्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असार ९ गते राति करिब ११ बजे काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तानलाई जग्गा खरिदका लागि ल्याएको रकमसहित नियन्त्रणमा लिई लुटपाट गरिएको थियो। आरोपितहरूले आफूहरू प्रहरी भएको नाटक गर्दै नगद, मोबाइल फोन तथा बैंकको खाली चेक समेत लुटेर फरार भएका थिए।
घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक, काठमाडौं र पर्सा जिल्लाका विभिन्न स्थानका ४३, २८ र ४३ वर्ष उमेरका तीन जना पुरुष तथा एक महिला रहेका छन्।
प्रहरीले पक्राउ परेकामध्येबाट रु. २ लाख नगद बरामद गरेको जनाएको छ। उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




