काठमाडौं, असार १७ । हाल देशभर मनसुनी वायुको पूर्ण प्रभाव रहेकाले अधिकांश भू-भागमा बदली र वर्षाको क्रम जारी रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने कोशी र मधेश प्रदेशमा साधारणतया बदली रहेको छ। अहिले बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरू तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
तराईका जिल्लाहरूमा भने बागमती र गण्डकीको थोरै स्थानबाहेक अन्य प्रदेशमा अहिले पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत १२ घण्टामा सबैभन्दा बढी पानी सिन्धुपाल्चोकको ठोकर्पामा ७३.८ मिलिमिटर रेकर्ड गरिएको छ।
आज दिउँसाे देशभर अधिकांश बादल लाग्ने अनुमान गरिएको छ। दिउँसो देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा मधेश प्रदेशको एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुने देखिन्छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आज दिउँसो भारी वर्षाको समेत सम्भावना रहेको छ।
यसैगरी रातिको समयमा पनि पहाडी तथा तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना कायमै रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। पहाडी क्षेत्रमा भारी वर्षाका कारण पहिरो तथा नदी नालाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले मौसम क्षेत्रले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।




