चितवन, असार २१ । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणबाट आमा र छोराको दुखद मृत्यु भएको छ।
शनिबार राति करिब ११:०० बजे स्थानीय पूर्ण बोटेको घरमा पसेको जङ्गली हात्तीले घरभित्र सुतिरहेका उनीहरूमाथि आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट पूर्णकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको हो।
हात्तीले आक्रमण गर्न थालेपछि ज्यान जोगाउन र हात्ती धपाउन पूर्ण बोटेले आगो बालेका थिए। तर, सोही क्रममा उनको फुसको कच्ची घरमा अचानक आगलागी समेत हुन पुगेको थियो।
घटनाको जानकारी पाउनासाथ स्थानीय निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा घरमा लागेको आगो नियन्त्रणमा लिइएको छ।
हात्तीको आक्रमण र आगलागीबाट पीडित परिवार छाँगाबाट खसेजस्तै बनेका छन्। घटनाबारे थप विवरण संकलन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




