काठमाडौं, असार २२ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका विभिन्न भू-भागमा मेघगर्जन, चट्याङ्ग, भारी वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर स्थानभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानकै आसपासमा अवस्थित रहेको छ। यसैको प्रभावस्वरुप आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
साथै मधेश, कोशी र बागमती प्रदेशको तराई भू-भागमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ। यो क्रम राती पनि जारी रहने र देशभर साधारणतया बदली रही कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।




