काठमाडौं, असार २३ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई (SEE) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालका अनुसार गत असार १ देखि ७ गतेसम्म सञ्चालन भएको उक्त परीक्षामा नियमिततर्फ ‘नन ग्रेडिङ’ मा परेका १ लाख ४६ हजार ५०७ जना परीक्षार्थीहरू सहभागी थिए। परीक्षामा सहभागीमध्ये ८३ हजार ४२३ जना अर्थात् ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट, एसएमएस, यूएसएसडी र आईभीआर सेवामार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् भने सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट समेत डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ।
साथै, प्रकाशित नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीहरूले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।




