काठमाडौं, असार २५ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो एक पठाओ चालकले आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन्।
मुगुको सोरु गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपालीले दिउँसो करिब १ः४५ बजे विभागको ३ नम्बर गेट नजिकै आत्मघाती कदम चालेका हुन्। काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले त्रिपुरेश्वरमा उनको मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि उत्पन्न विवाद र आवेशका कारण उनले सो कदम चालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
राइड सेयरिङ व्यवसायमा आबद्ध नेपालीले नगर प्रहरीको कारबाही लगत्तै आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए। घटनास्थलमा खटिएको प्रहरी टोली र स्थानीयवासीले तत्कालै आगो निभाएर उनलाई गम्भीर अवस्थामा उद्धार गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घाइते नेपालीको अहिले वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको छ।
महानगरको पार्किङ कारबाही र नगर प्रहरीको व्यवहारका कारण घटना घटेको देखिए पनि प्रहरीले यसको विस्तृत पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको छ।




