काठमाडौं, असार २६ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभागले बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोध हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद्हरूले विशेषगरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान तथा लामो दूरीको यात्रा गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।




