काठमाडौं, असार २६ । त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटना अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नियन्त्रणमा लिइएका तीनै जना काठमाडौँ महानगरपालिकाका नगर प्रहरी हुन्। पक्राउ पर्नेमा दुई महिला र एक पुरुष नगर प्रहरी रहेका छन्। उनीहरूलाई अहिले प्रहरी वृत्त कालीमाटीमा राखेर घटनाका सम्बन्धमा सघन सोधपुछ र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
फुटपाथ व्यवसाय सञ्चालनका क्रममा नगर प्रहरीसँग भएको विवाद र तनावका कारण नेपालीले आत्मदाहको बाटो रोजेको हुनसक्ने आशंकामा प्रहरीले उनीहरूमाथि छानबिन सुरु गरेको हो।




