काठमाडौं, असार २८ । शनिबारको अविरल वर्षाका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी परिवारहरूलाई भक्तपुरको खरिबोट (खरिपाटी) स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।
स्थानान्तरण गरिएका नागरिकहरूको अवस्था बुझ्न र उनीहरूसँग तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनबारे छलफल गर्न आज (आइतबार) गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा ६ जना मन्त्रीहरूको टोली खरिपाटी र बोडे पुगेको छ। अनुगमन टोलीमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल, महिला तथा सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्यमन्त्री निशा मेहता र श्रममन्त्री रामजी यादव सहभागी हुनुहुन्थ्यो। सो अवसरमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आवश्यक प्रक्रिया पूरा गरेर सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो।
यस समस्याको दीर्घकालीन समाधानका लागि सरकार लागिपरेको स्पष्ट पार्दै उहाँले सुकुम्बासीका नाममा कसैलाई पनि राजनीति नगर्न आग्रह गर्नुभयो। गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रीहरूको टोलीले पीडितहरूसँग प्रत्यक्ष छलफल गर्दै सरकारले उनीहरूको गाँस, बास र स्वास्थ्यको उचित व्यवस्थापन गर्ने आश्वासन समेत दिएको छ।




