काठमाडौं, असार २९ । प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका जलन (बर्न) बिरामीहरूलाई सहज र गुणस्तरीय उपचार उपलब्ध गराउन सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्डहरूको सुदृढीकरण गर्न निर्देशन दिएका हुन्।
छलफलमा प्रधानमन्त्री शाहले नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै अस्पतालहरूमा सरसफाइ, डिजिटल प्रविधिको प्रयोग, र सुशासनको प्रभावकारी कार्यान्वयनमा जोड दिए। साथै, आर्थिक रूपमा कमजोर र विपन्न नागरिकको उपचारमा पहुँच बढाउन निजी अस्पतालहरूले ओपिडी सेवाको कम्तीमा १० प्रतिशत सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने नियमलाई कडाइका साथ लागू गर्न उनले निर्देशन दिए।
बैठकमा पाटन, राप्ती, पोखरा, बीपी कोइराला र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिहरूको सहभागिता थियो। उनीहरूले स्वास्थ्य सेवामा डिजिटल रूपान्तरण र जग्गा अतिक्रमण जस्ता चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए भने प्रधानमन्त्री शाहले प्रतिष्ठानहरूको जग्गा अतिक्रमणको समस्या कानुनबमोजिम समाधान गरिने प्रतिबद्धतासमेत व्यक्त गरे।




