काठमाडौं, असार ३१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान आसपासमा अवस्थित रहेको छ।
यसकै प्रभावका कारण अहिले देशभर साधारणतया बादल लाग्ने र विभिन्न क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। दिउँसोको मौसमी प्रणाली: चार प्रदेशमा भारी वर्षाको सम्भावनादिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, पहाडी तथा तराई भू-भाग तर्फ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने देखिन्छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी र बागमती प्रदेशको हिमाली भू-भाग तथा कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।भारी वर्षा, चट्याङ्ग र हिमपातको सम्भावना रहेका क्षेत्रहरूमा हुन सक्ने भू-क्षय, बाढी तथा पहिरो जस्ता प्राकृतिक जोखिमबाट बच्न महाशाखाले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।




