काठमाडौं, असार ३२ । शरीरलाई स्वस्थ राख्न आवश्यक पर्ने भिटामिन डी को कमी हुँदा हड्डी, मांसपेशी र रोगसँग लड्ने शरीरको क्षमता कमजोर हुन सक्छ। स्वास्थ्य विज्ञहरूका अनुसार अहिले धेरै मानिसमा भिटामिन डीको कमी देखिने गरेको छ।
भिटामिन डीले शरीरमा क्याल्सियम राम्रोसँग सोस्न मद्दत गर्छ। क्याल्सियम हड्डी बलियो बनाउन आवश्यक हुने मुख्य तत्व हो। भिटामिन डी पर्याप्त भए हड्डी, मांसपेशी र स्नायु प्रणाली पनि स्वस्थ रहन्छ।
किन हुन्छ भिटामिन डीको कमी?
पर्याप्त घाममा नबस्ने, भिटामिन डी भएको खाना कम खाने, कलेजो वा मिर्गौलासम्बन्धी रोग हुनु वा शरीरले पोषक तत्त्व राम्रोसँग सोस्न नसक्दा भिटामिन डीको कमी हुन सक्छ।
को बढी जोखिममा छन्?
वृद्धवृद्धा, स्तनपान गरिरहेका शिशु, गाढा छाला भएका व्यक्ति, मोटोपन भएका मानिस तथा कलेजो, मिर्गौला वा आन्द्रासम्बन्धी समस्या भएका व्यक्तिमा भिटामिन डीको कमी हुने सम्भावना बढी हुन्छ।
कमी हुँदा के हुन्छ?
भिटामिन डी कम हुँदा हड्डी कमजोर हुने, बारम्बार दुख्ने, मांसपेशी कमजोर हुने र हड्डी सजिलै भाँचिने जोखिम बढ्छ। बालबालिकामा यसको गम्भीर कमी भए हड्डी बांगिने समस्या पनि देखिन सक्छ।
भिटामिन डी कहाँबाट पाइन्छ?
भिटामिन डी सूर्यको घामबाट प्राकृतिक रूपमा प्राप्त हुन्छ। साथै साल्मन, टुना, अण्डाको पहेंलो भाग, चिज, च्याउ, दूध, दही तथा भिटामिन डी मिसाइएका केही खाद्य पदार्थबाट पनि यसको पूर्ति गर्न सकिन्छ।
धेरै सप्लिमेन्ट पनि हानिकारक
चिकित्सकको सल्लाहबिना धेरै मात्रामा भिटामिन डीको औषधि (सप्लिमेन्ट) खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। धेरै भएमा वाकवाकी लाग्ने, कब्जियत हुने, मिर्गौलामा असर पर्ने तथा रगतमा क्याल्सियमको मात्रा बढ्न सक्छ।
स्वास्थ्य विज्ञहरूले सन्तुलित आहार खाने, नियमित रूपमा बिहान वा बेलुकाको हल्का घाममा केही समय बस्ने र आवश्यकता परे चिकित्सकको सल्लाहमा मात्र भिटामिन डीको सप्लिमेन्ट सेवन गर्न सुझाव दिएका छन्।
स्रोत: MedlinePlus


