काठमाडौँ, साउन १ । नेपाल टेलिकमले मुगु र बाजुरा जिल्लाका अति विकट तथा दुर्गम क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ।
टेलिकमले मुगुको सोरु गाउँपालिका-६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका-१ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा विस्तार गरेको हो। सोरुकोटमा आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गममा आधुनिक दूरसञ्चार सेवा पुग्नु ऐतिहासिक उपलब्धि भएको बताउनुभयो।
बाजुराको बिच्छ्याको नेटामा जडान गरिएको टावरले कोट, नेटा, बाम, बौडी, यौना, नातीखोला र बाजुरा-रानिसैन पदमार्गसम्म कभरेज दिनेछ। त्यस्तै, कुवाडीको टावरले आसपासका गाउँ र हुम्ला ताँजाकोट जाने मार्गलाई समेत समेट्नेछ।
यो सेवा सुरु भएसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस र एसएमएस सेवाको सहज लाभ लिन पाउनेछन्। यसले विकट क्षेत्रका नागरिकको सूचना, शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउनुका साथै स्थानीय आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।




