काठमाडौं, साउन ३ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू-भाग आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू-भाग आसपास रहेकाले देशभर मनसुनी वायुको प्रभाव तीव्र छ। सोही कारण आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भई बग्ने साना नदीहरूमा बाढीको जोखिम बढेको हो। यद्यपि, कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर भने हाल जोखिम रेखाभन्दा तलै रहेको छ।
यसैबीच विभागले आज दिउँसो र राती देशभर अधिकांश बादल लाग्ने र धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।
त्यसैगरी राती पनि कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा हुनुका साथै बागमती प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग तथा मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।




