मलंगवा, साउन ३ । आफ्नी प्रेमिकालाई घटनास्थलमा बोलाउन र विवाह गराइदिन माग गर्दै सर्लाहीको मलंगवामा आइतबार बिहानैदेखि नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका २४ वर्षीय युवक अन्ततः सुरक्षित रूपमा भुइँमा ओर्लिएका छन्।
गोडैता नगरपालिका–९ बकैनिया निवासी अफसर आलम हुसेन प्रेम सम्बन्धका कारण सिर्जित मानसिक तनावका कारण टेलिकम कार्यालय परिसरभित्रको अग्लो टावरमा चढेका थिए। उनले टावरबाटै साथीलाई फोन गरेर आफ्नो अडान सुनाएपछि सुरक्षा निकायमा खैलाबैला मच्चिएको थियो।
युवकको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली तुरुन्तै घटनास्थल पुगेको थियो। सुरक्षाकर्मीहरूले उनलाई ओराल्न निकै प्रयास गरे पनि उनी आफ्नो अडानबाट पछि हटेका थिएनन्।
सुरक्षा निकायले सम्झाउँदा पनि नमानेपछि अन्ततः हुसेनका आमाबुबालाई घटनास्थलमा बोलाइएको थियो। टावरमुनि उभिएर आमाबुबाले माया र स्नेहपूर्वक सम्झाउँदै गल्ती नगर्न र सुरक्षित तल आउन आग्रह गरेपछि हुसेनको मन पग्लियो। आमाबुबाको कुरा सुनेर उनी आफैँ सुरक्षित रूपमा टावरबाट तल झरेका हुन्।
प्रहरी र सेनाको सहयोगमा सुरक्षित उद्धार गरिएका हुसेनलाई आवश्यक सोधपुछ र काउन्सिलिङ (परामर्श) पछि आइतबार दिउँसो आमाबुबाकै जिम्मा लगाएर घर पठाइएको सर्लाही प्रहरीले जनाएको छ।




