ललितपुर, साउन ४ । नेपाली कांग्रेसका सभापति गगन थापाले तीनवटा ठूला राजनीतिक दलहरू मिलेर प्रदेश सरकार गठन गर्ने भनी आएको प्रस्ताव गलत भएको टिप्पणी गरेका छन्। नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिद्वारा आज नाखिपोटमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण’ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो धारणा राखेका हुन्।
नेपाली कांग्रेस, नेकपा (एमाले) र तेस्रो प्रमुख कम्युनिस्ट पार्टी मिलेर प्रदेशहरूमा सरकार बनाउने प्रस्ताव आएकोतर्फ संकेत गर्दै उनले यो नागरिकको म्यान्डेट (जनादेश) विपरीत हुने बताए। “अहिले तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ भन्ने प्रस्ताव आइरहेको छ, तर हामीले यो गलत हो, यसो गर्नु हुँदैन भनिसकेका छौँ,” बागमती प्रदेश सरकारको भविष्यबारे कार्यकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै उनले थपे, “यसो गरिए नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुन्छ। कांग्रेस आफ्नो सिद्धान्तमा सम्झौता गर्दैन।” एमालेसँग प्रदेश सरकारमा सहकार्य नगर्ने कांग्रेसको अडानसँगै अब नयाँ राजनीतिक समीकरणको चर्चा सुरु भएको छ।
सोही कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेसले युवा पुस्तालाई पार्टीको मूल धारमा ल्याउन नीतिगत व्यवस्था गरेको जानकारी दिए। उनका अनुसार कांग्रेसले आगामी महाधिवेशनमा ३० वर्षमुनिका युवाहरूको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्न नीतिगत व्यवस्था गरिसकेको छ।
पूर्वप्रधानमन्त्री एवं पूर्वसभापति दिवंगत कृष्णप्रसाद भट्टराईको सालिक अनावरण गर्दै सभापति थापाले भट्टराई नेपाली राजनीतिका एक अविस्मरणीय र निष्ठावान् व्यक्तित्व भएको बताए। ‘किशुनजी’ को ‘सन्त नेता’ को पहिचान इतिहासमा सधैँ अमेट रहने उल्लेख गर्दै उनले भट्टराई नेपालकै एक इमानदार, गम्भीर र उच्च नैतिक धरातल भएका राजनीतिज्ञ भएको स्मरण गरे।




