काठमाडौं, साउन ४ । जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश क्षेत्रमा आज र आज राति हल्कादेखि मध्यम वर्षासँगै मेघगर्जन तथा चट्याङ पर्ने सम्भावना रहेको जनाएको छ। विशेषगरी पहाडी भू–भागका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ। साथै आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायम रहने विभागले जनाएको छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, सडक यातायात प्रभावित हुन सक्ने तथा पहिरोको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।




