काठमाडौं, साउन ४ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पुँजी बजार र धितोपत्र क्षेत्रका समस्याहरू द्रुत रूपमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
सोमबार सिंहदरबारमा वित्तीय क्षेत्रका सरोकारवालाहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले लगानीमैत्री वातावरण बनाउन र व्यवसायीका जायज मागहरूलाई व्यवस्थित रूपमा सम्बोधन गर्न सरकार प्रयासरत रहेको बताउनुभयो। उहाँले यी समस्याहरूको प्रभावकारी समाधानका लागि आगामी बैठकहरूमा सम्बन्धित सरकारी निकाय र उद्योग प्रतिनिधिहरूबीच प्रत्यक्ष समन्वय गराइने आश्वासन दिनुभयो।
छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका पुँजीबजार समिति सभापति प्रियराज रेग्मीले लगानीकर्ताको मनोबल बढाउन, करसम्बन्धी अस्पष्टता हटाउन, घाटा समायोजनपछि मात्रै कर लिन र ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न सुझाव दिइएको जानकारी दिए।
साथै, सहभागीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, १० कित्ते नीतिको पुनरावलोकन र योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न जोड दिएका थिए। बैठकमा धितोपत्र बोर्ड, नेप्से, र स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरूको सहभागिता थियो।




