काठमाडौं, साउन ५ । मोरङ्ग जिल्लाको बुढिगंगा गाउँपालिका–१, टंकी सिनवारी तथा सीमा इलाकाबाट साउन ४ गते सशस्त्र प्रहरीले १४ लाख ८६ हजार ४ सय ८० रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको सामानसहित बिराटनगर महानगरपालिका–१७, रानीबस्ती बस्ने ३२ वर्षीय मोहम्मद अफजललाई सशस्त्र प्रहरी बल नेपाल नं. ३ कंकालिनी गण मोरङ्ग र सीमा सुरक्षा गुल्म रानीको टोलीले नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामानहरूमा लत्ताकपडा, कस्मेटिक तथा किराना सामग्री, औषधि, सिटी सफारी र एउटा स्कुटर रहेका छन्। नियन्त्रणमा लिइएका व्यक्ति, बरामद गरिएका सामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङ्गमा बुझाइएको छ।




