काठमाडौं, साउन ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा चीन भ्रमणमा जाने तयारीमा जुटेका छन्।
रास्वपा स्रोतका अनुसार भ्रमणको प्रारम्भिक खाका तयार भइसके पनि औपचारिक घोषणा भने हुन बाँकी छ। भ्रमण आगामी साउन वा भदौ महिनाभित्र हुने सम्भावना रहेको स्रोतले जनाएको छ। यो भ्रमण सरकारी कूटनीतिक माध्यमबाट नभई दुवै राजनीतिक दलबीचको सीधा समन्वय र समझदारीमा तय गरिनेछ।
रास्वपा नेतृत्वको सरकार गठन भएपश्चात् लामिछानेको यो पहिलो चीन भ्रमण हुनेछ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा पाँच दिने भारत भ्रमण पूरा गरी जेठ २२ मा स्वदेश फर्किएलगत्तै चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई चीन भ्रमणको निमन्त्रण पठाएको थियो।
चीन बसाइका क्रममा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने र दुई देशका राजनीतिक दलहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने कार्यसूची रहेको बताइएको छ।


