काठमाडौं, साउन ११ । चर्चित बालकलाकार तथा गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भनिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यसले व्यापक चर्चा र चिन्ता उत्पन्न गरेको छ। घटनाको वास्तविकता खुल्दै जाँदा पीडित गायक अशोक दर्जी आफैले सम्बन्धित निकायमा निवेदन दर्ता गराएका छन् भने प्रदर्शनको क्रममा रहेको चलचित्र ‘पार्वती’ को टिमले पनि विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
टिकटक र फेसबुकमा तीव्र गतिमा फैलिरहेको उक्त भिडियोमा एक अपरिचित युवकले अशोक दर्जीलाई घेरेर आक्रोश पोखिरहेको दृश्य प्रष्ट देखिन्छ। ती युवकले “पैसा कहिले दिने?” भन्दै अपमानजनक शब्दहरू प्रयोग गरेका छन्। एक गायक कलाकार भएर पनि अर्काको पैसा नतिरेको आरोप लगाउँदै ती युवकले क्यामराकै अगाडि अशोकको गालामा पटक-पटक थप्पड हानेका छन्।
भिडियोमा अशोक दर्जी निकै त्रसित र निरीह अवस्थामा देखिन्छन् भने उनी प्रतिवाद गर्न सक्ने स्थितिमा छैनन्। पृष्ठभूमिमा अर्का एक व्यक्तिले रोक्न खोजे पनि ती युवकले हातपात जारी राखेको भिडियोमा देखिन्छ।
यसैबीच, यस घटनालाई लिएर अशोक दर्जी आफैले इलाका प्रहरी कार्यालयमा न्यायका लागि निवेदन दिएका छन्। उनीसँगै उनको अभिनय रहेको प्रदर्शनको क्रममा रहेको निर्देशक नीता ढुंगानाको चलचित्र ‘पार्वती’ को टिमले पनि अशोकको पक्षमा समर्थन जनाउँदै आधिकारिक विज्ञप्ति जारी गरेको छ।
चलचित्र ‘पार्वती’ टिमले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “हाम्रो प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’ का बाल कलाकार अशोक दर्जी भाइको हिजो राति सार्वजनिक भएको भिडियोले हामीलाई अत्यन्त दुःखी र विचलित बनाएको छ। घटनाको वास्तविकता निष्पक्ष रूपमा छानबिन हुन आवश्यक छ। कसैको गल्ती भए पनि कानुनी प्रक्रिया र मानवीय व्यवहारभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सामाजिक रूपमा अपमानित गर्नु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन।”
चलचित्र टिमले यो घटना अहिलेको नभई धेरै समयअघिको पुरानो भएको दाबी गरेको छ। अशोकको निरन्तर मेहनत, लगनशीलता र प्रगतिले चर्चा पाइरहेको बेला यस्ता पुराना भिडियोहरू बाहिर ल्याएर उनलाई बदनाम गर्ने प्रयास गरिएको उनीहरूको ठहर छ।
विज्ञप्तिमा थप उल्लेख छ – “यो घटना अहिलेको होइन, धेरै समयअघिको हो। यदि यो विषय वास्तविक रूपमा चिन्ताको कारण थियो भने, त्यतिबेलै यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भई चर्चा हुनुपर्ने थियो। तर अहिले अशोकको प्रगति भइरहेको बेला नियोजित रूपमा यो भिडियो बाहिर ल्याइएको देखिन्छ।”
सामान्य परिवारबाट आफ्नो प्रतिभाको बलमा यहाँसम्म आइपुगेका अशोक दर्जीलाई यतिबेला सबैको साथ, सहयोग र न्यायको टरो आवश्यकता रहेको भन्दै चलचित्र टिमले एकपक्षीय रूपमा नभई तथ्य र कानुनी आधारमा बुझ्न सबैलाई आग्रह गरेको छ।




