काठमाडौं, साउन १२ । अर्थ मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत पदपूर्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।
इच्छुक तथा आवश्यक योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ साउन २६ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन बुझाउनुपर्नेछ। यस पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ।
साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष व्यवस्थापकीय तहसहित कुल १५ वर्षको कार्य अनुभव आवश्यक छ। आवेदन दिने उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदनसँग तोकिएको ढाँचाको आवेदन फारम, ३ प्रति खामबन्दी गरिएको व्यावसायिक कार्ययोजना तथा राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रु. ५,००० आवेदन दस्तुर बुझाएको सक्कल भौचर अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।




