काठमाडौं, साउन १३ । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय, सानेपामा राखिएको छ। श्रेष्ठको पार्थिव शरीरमा पार्टी सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
७९ वर्षको उमेरमा श्रेष्ठको निधन भएपछि बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले तीन दिन शोक मनाउने निर्णय गरेको हो।
पार्टीका अनुसार साउन १३, १४ र १५ गतेसम्म केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ। साथै, साउन १४ गते (बिहीबार) देशभरका कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरू बन्द रहनेछन्।
त्यसैगरी, स्वर्गारोहणको १३ दिनसम्म केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखी नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने नेपाली कांग्रेसले जनाएको छ।




