बैतडी, साउन १३ । बैतडीमा आफ्नै गोरुलाई निर्घात कुटपिट गरी भिरबाट फालेको आरोपमा एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार पक्राउ पर्ने नाबालक पाटन नगरपालिका–१, लदैलीका निवासी हुन्।
स्थानीय जंगलमा ती नाबालकले आफ्नै गोरुलाई लौरोले निर्घात कुटपिट गर्दा गोरुको खुट्टा भाँचिएको र त्यसपछि भिरबाट फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।
भाइरल भिडियोमा नाबालकले गोरुलाई पटक–पटक लौरो प्रहार गरी कुटपिट गरेको, गोरुको खुट्टा भाँचिएपछि भिरबाट धकेलेको तथा त्यसक्रममा ‘जय हनुमान’ लगायतका शब्द उच्चारण गरेको सुनिन्छ।
अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पाटनले गोरुलाई कुटपिट गर्ने नाबालकसँगै घटनाको भिडियो खिच्ने अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिएको थियो। सोधपुछपछि भिडियो खिच्ने व्यक्तिलाई रिहा गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोरुलाई कुटपिट गर्ने नाबालकविरुद्ध पशुपन्छीसम्बन्धी प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।




