काठमाडौं, साउन १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा समसामयिक राजनीतिक अवस्था, सुनसरीको देवानगन्जमा भएको घटनापछि विकसित परिस्थिति, शान्ति–सुरक्षा तथा राष्ट्रिय महत्वका विभिन्न विषयमा छलफल भएको हो।
राष्ट्रपति पौडेलको सचिवालयले जनाएको अनुसार सभापति लामिछानेले सुनसरी घटनाका सम्बन्धमा राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबारे आफ्नो धारणा र जानकारी पनि प्रस्तुत गरेका थिए।
देवानगन्ज घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपति पौडेलले प्रमुख राजनीतिक दलका नेताहरूसँग परामर्श र छलफललाई निरन्तरता दिइरहेका छन्।




