काठमाडौं, साउन १४ । गृहमन्त्री सुधन गुरुङ बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेपछि स्वास्थ्यमन्त्री निशा मेहतासँगै सुनसरी प्रस्थान गरेका छन्।
प्रधानमन्त्रीका प्रेस संयोजकका अनुसार, प्रधानमन्त्रीसँगको छलफल तथा स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरेपछि दुवै मन्त्री सुनसरीतर्फ प्रस्थान गरेका हुन्। पछिल्लो समय हिंसासँग सम्बन्धित घटनापछि उत्पन्न तनाव र सुरक्षा अवस्थाको समीक्षा गर्न उनीहरू त्यसतर्फ गएका बताइएको छ।
यता, सिरहामा प्रदर्शन चर्किएपछि सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। बिहीबार भएका प्रदर्शनका क्रममा गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ।
स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। घटनास्थलमा नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरिएको छ भने अवस्था सामान्य बनाउन प्रयास जारी रहेको प्रशासनले जनाएको छ।




