काठमाडौं, साउन १५ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
शुक्रबार प्रथम महिला सविता पौडेलसहित ललितपुरको सानेपास्थित श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिवंगत नेताप्रति श्रद्धासुमन अर्पण गर्नुभएको हो। सो क्रममा उहाँले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गर्नुभयो।
श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनर्स्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न सङ्घर्ष र आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो। राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था र समाजवादप्रतिको निष्ठाका साथै सार्वजनिक जीवनमा नेता श्रेष्ठले पुऱ्याउनुभएको योगदान सधैँ स्मरणीय रहने उहाँको भनाइ थियो।




