काठमाडौं, साउन १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीको घटनालाई लिएर सामाजिक सदभाव कायम राख्न र देशमा सामान्य अवस्था फर्काउने विषयमा विभिन्न धार्मिक गुरुहरूसँग छलफल गरेका छन्।
रास्वपाको सिंहदरबारस्थित संसदीय कार्यालयमा भएको सो भेटमा सभापति लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग कुराकानी गरेको लामिछानेको सचिवालयले जनाएको छ।
त्यसैगरी, रास्वपा सभापतिले विश्व हिन्दू महासंघका महामन्त्री रामचन्द्र तिवारी र महासंघका सचिवालय सदस्य राजुराज फुयालसँग पनि भेटघाट गरी छलफल गरेका छन्।
भेटका क्रममा लामिछानेले सुनसरी र सिराहा लगायत देशका विभिन्न भागमा भइरहेका प्रदर्शनहरू रोक्न तथा आपसमा सदभाव कायम राख्न अपिल गर्नका लागि आ-आफ्नो तर्फबाट पहल गरिदिन आग्रह गरेका छन्।




