चितवन, साउन १८ । पहिरोका कारण आंशिक रूपमा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डको अवरोध हटाइएपछि सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
आज बिहान सडकका विभिन्न स्थानमा खसेको पहिरोका कारण केही समय सवारीसाधन एकतर्फी रूपमा मात्र सञ्चालन गरिएको थियो। चितवन तुइनखोला, नाम्सीखोला र सिमलतालमा सडकमाथि थुप्रिएको पहिरोका कारण एकतर्फी मात्रै सवारी सञ्चालन गरिएको थियो भने १५ किलो र १७ किलो क्षेत्रमा सडक किनारमा माटो थुप्रिएको थियो।
सडक डिभिजनका अनुसार आज बिहान १०:५० बजेसम्म पहिरो हटाउने काम जारी राखी सडक सञ्चालनमा ल्याइएको छ। यद्यपि, क्षेत्रमा लगातार वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम अझै कायम रहेको जनाइएको छ।
सडक डिभिजनले यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
यस सम्बन्धी जानकारी सडक सुपरभाइजर सुक बहादुर गुरुङले उपलब्ध गराएका हुन्।




