काठमाडौं, साउन २० । मन्त्रिपरिषद्को हालैको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा याङ्की उक्यावलाई नियुक्त गरेको छ। अर्थमन्त्री नेतृत्वको सिफारिस समितिले अघि बढाएको छनोट प्रक्रियामार्फत उहाँ यो जिम्मेवारीमा नियुक्त हुनुभएको हो।
उक्याव विकास अर्थशास्त्र तथा सार्वजनिक नीति क्षेत्रका विज्ञ हुनुहुन्छ भने उहाँले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारको रूपमा पनि काम गरिसक्नुभएको छ। उहाँले बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स) गर्नुभएको छ।
त्यसैगरी, सोही मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्कबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसका साथै, नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, खारेज गरी त्यसलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्ने स्वीकृति पनि प्रदान गरिएको छ।




