काठमाडौं, साउन ३१ । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा साउन ३० गते साँझ गएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ भने दुई जना अझै बेपत्ता छन्।
घटनामा परेर घाइते भएका ५२ वर्षीय केदार कार्कीको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। यसअघि पहिरोमा परि ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको ज्यान गएको थियो भने ७० वर्षीय भीमबहादुर कार्की र १४ वर्षीय हरिस विक बेपत्ता भएकाले खोजीकार्य जारी छ।
पहिरोका कारण ८ वटा घरमा ठूलो क्षति पुगेको छ भने गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको छ। बेपत्ताहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विपद् व्यवस्थापन तालिम प्राप्त विशेष सुरक्षा टोली परिचालन गरिएको छ।




