काठमाडौं, भदौ १ । ‘जनआस्था साप्ताहिक’ का सम्पादक किशोर श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि थप चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।
वैयक्तिक गोपनीयता हननको मुद्दामा हिरासतमा रहेका श्रेष्ठलाई म्याद थपका लागि सोमबार बिहान प्रहरीले अदालतमा उपस्थित गराएको थियो। यसअघि अदालतले उनलाई ३ दिनको म्याद दिएको थियो भने आज फेरि ४ दिन थप गरिएको हो।
अर्कोतर्फ, श्रेष्ठको गिरफ्तारीविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट माथि आजै सुनुवाइ हुँदैछ। यसका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ।




