“फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार…”
काठमाडौं, भदौ १ । यो मात्र एउटा गीत होइन, जीवनलाई हेर्ने र बुझ्ने एउटा दार्शनिक दृष्टि हो। यही अमर सृष्टिका रचयिता, नेपाल भाषाका जनकवि एवं प्रख्यात साहित्कार दुर्गालाल श्रेष्ठकाे निधन भएकाे छ । गएराति बुढानीलकण्ठस्थित आफ्नै निवासमा उहाँको ९३ वर्षको उमेरमा निधन भएको हाे।
पछिल्लो समय विभिन्न साहित्यिक संस्थाहरू उहाँलाई भव्य रूपमा अभिनन्दन गर्ने तयारीमा जुटिरहेका थिए। उहाँको दीर्घ योगदानलाई कदर गर्दै सम्मान गर्ने माहोल बनिरहेको बेला अचानक आएको यो निधनको खबरले सिङ्गो नेपाली साङ्गीतिक र साहित्यिक जगतलाई स्तब्ध र मर्माहत बनाएको छ।
पारिवारिक स्रोतका अनुसार, केही समयअघि उहाँलाई पिसाबसम्बन्धी संक्रमण (यूटीआई) देखिएपछि काठमाडौंको मोडेल अस्पताल भर्ना गरिएको थियो। शरीरमा अक्सिजनको मात्रा घटेपछि उहाँलाई सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार गरिएको थियो। उपचारपछि स्वास्थ्यमा केही सुधार आएपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरेर बुढानीलकण्ठस्थित निवासमै राखिएको थियो। तर, घरमै आराम गरिरहेका बेला स्वास्थ्य अवस्था पुनः जटिल बन्न पुग्यो र उहाँले यस धर्तीबाट सदाका लागि बिदा लिनुभयो।
पछिल्लो छ दशकभन्दा बढी समयदेखि नेपाली र नेपाल भाषाको श्रीवृद्धिका लागि निरन्तर कलम चलाइरहनुभएका श्रेष्ठ नेपाल भाषाका मात्र नभई सम्पूर्ण नेपाली साहित्यकै एक धरोहर हुनुहुन्थ्यो। उहाँले कविता, गीत र बालसाहित्यका माध्यमबाट समाजमा प्रेम, सद्भाव र मानवताको सन्देश छर्नुभयो।
सम्मान तथा पुरस्कार: नेपाल भाषा परिषद्ले उहाँलाई दुई दशकअघि नै ‘जनकवि’ को पदवीले सुशोभित गरेको थियो। साहित्य क्षेत्रमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै २०६७ सालमा (सन् २०१० मा) उहाँलाई प्रतिष्ठित जगदम्बा-श्री पुरस्कार प्रदान गरिएको थियो।
शारीरिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले रचना गरेका शब्दहरू, गाएका गीतहरू र नेपाली माटोप्रतिको उहाँको समर्पण भावना हामी सबैको हृदयमा सधैँ जीवित रहनेछ। अमर स्रष्टा जनकवि दुर्गालाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली!




