काठमाडौं, भदौ १ । सर्वाधिक रुचाइएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ। शनिबार काठमाडौंमा सम्पन्न तेस्रो ’इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’को मञ्चबाट यस चलचित्रको औपचारिक घोषणा गरिएको हो। सिक्वेलको नाम ‘कलेजी – ऊनको स्वीटर’ राखिएको छ।
आगामी दशैँपछि छायांकन सुरु हुने यस चलचित्रलाई सन् २०२७ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ।
निर्देशक नवीन चौहानले सामाजिक सञ्जालमा शीर्षक डिजाइन सार्वजनिक गर्दै दर्शकको अत्यधिक माग र चाहनालाई ध्यानमा राखेर सिक्वेल बनाउन लागेको बताएका छन्। उनले भने, “धेरै दर्शकले फिल्म अधुरो भयो, पूरा कथा हेर्न चाहन्छौँ भनी आग्रह गर्नुभएको थियो। अब हामी ‘ऊनको स्वीटर’को नयाँ यात्रा सुरु गर्दैछौँ।”
“सीमाभन्दा माथि हुन्छ कला” भन्ने मर्मलाई आत्मसाथ गरिएको यस चलचित्रमा धरणीधर र फूलको अधुरो प्रेमकथा सिक्किमबाट फेरि अगाडि बढ्ने निर्देशक चौहानले जानकारी दिए।
मुख्य कलाकार र बलिउडको एन्ट्री
यस सिक्वेलमा अघिल्लो भागका लोकप्रिय जोडी विपिन कार्की (धरणीधर) र मिरुना मगर (फूल) मुख्य भूमिकामा दोहोरिने भएका छन्। उनीहरूसँगै एलेक्स पारस र परीक्षा लिम्बू पनि प्रमुख भूमिकामा देखिनेछन्।
यस चलचित्रको सबैभन्दा ठूलो आकर्षण भनेको भारतका चर्चित लेखक तथा दिग्गज अभिनेता पियूष मिश्राको आगमन हो। लामो समय लगाएर स्क्रिप्ट पढेपछि र पहिलो भाग हेरेपछि मिश्रा यसमा काम गर्न तयार भएको निर्देशक चौहानले बताएका छन्। नेपाल र भारतका प्राविधिकहरूको संयुक्त सहकार्यमा बन्ने यस फिल्मको सह–लेखन अभिषेक सुवेदीले गरेका छन् भने लेखन तथा निर्देशन नवीन चौहानकै रहेको छ।
प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ ले घरेलु बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढीको सानदार व्यापार गर्दै उत्कृष्ट सफलता हासिल गरेको थियो। नेपालमा मात्र नभई भारतका सिनेमाघरहरूमा समेत यसले डेढ करोड भारु (करिब २ करोड ४० लाख नेरु) कमाउँदै ५१ दिन मनाउन सफल भएको थियो।
चलचित्रका ‘फूल’, ‘मखमली’, ‘काफ्ले’ र ‘चाईनेजो जिन्दगानी’ जस्ता गीतहरू आज पनि दर्शकमाझ उत्तिकै लोकप्रिय छन्। राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवहरूबाट हालसम्म १९ वटाभन्दा बढी प्रतिष्ठित अवार्ड चुक्न सफल यो चलचित्रको सिक्वेलप्रति दर्शकहरूमा अहिलेदेखि नै उच्च उत्साह देखिएको छ।




