काठमाडौं, भदौ २ । प्रतिनिधि सभाको बैठक बस्दैछ । मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा चार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर, विभिन्न विधेयक तथा प्रतिवेदनहरू पेस गर्ने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र, ऊर्जा, पर्यटन र कृषि तथा वातावरण मन्त्रालयका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुनेछ भने प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ।
साथै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ र कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै सामुद्रिक जैविक विविधतासम्बन्धी सम्झौतासमेत पेस गर्ने कार्यक्रम छ।
बैठकसँगै आज कृषि तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, र सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठकहरू पनि बस्नेछन्।




