मकवानपुर, भदौ ३ । हेटौँडा–१९ बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका चार बालिकामध्ये थप एक जनाको शव फेला परेको छ।
मङ्गलबार विद्यालयबाट घर फर्किने क्रममा खोलाको तीव्र बहावमा परेर चार बालिका बगेका थिए। घटनालगत्तै एक बालिकाको सकुशल उद्धार गरिएको थियो भने एक जनाको शव सोही दिन फेला परेको थियो। बाँकी दुई बालिकाको खोजी जारी रहेकामा बुधबार बिहान बिनिता भ्लोनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन अझै बेपत्ता रहेकी छन्। उनको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी परिचालन गरिएको छ।
यसअघि राक्सिराङ–१ निवासी कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तान मृतावस्थामा फेला परेकी थिइन्। यस्तै, कक्षा ६ मा अध्ययनरत सीमा भ्लोनलाई घाइते अवस्थामा उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
एकै घटनामा दुई बालिकाको ज्यान गएको तथा अर्की एक बालिका अझै बेपत्ता रहेकाले स्थानीय समुदाय शोकमा डुबेको छ। खोलामा बढेको पानीको बहाव र जोखिमपूर्ण अवस्था कारण खोजी कार्यमा समेत चुनौती थपिएको प्रहरीले जनाएको छ।




