काठमाडौं, भदौ ३ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भदौ ४ देखि ७ गतेसम्म टाटा कार्निभलको चौथो संस्करण सञ्चालन गर्ने भएको छ।
कम्पनीका अनुसार उक्त अवधिमा ग्राहकहरूले कुनै पनि पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गरी हालै सार्वजनिक गरिएका नयाँ पञ्च ईभी र टियागो ईभी लगायत टाटाका नयाँ सवारीसाधनसँग साट्न सक्नेछन्।
योजना अवधिभर गाडी बुकिङ गर्ने ग्राहकलाई उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज तथा निःशुल्क होम चार्जर जडान सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा सार्वजनिक गरिएको नयाँ पञ्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
पञ्च ईभी ३२ kWh र ४० kWh ब्याट्री विकल्पमा उपलब्ध रहेको छ। कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ। यसमा ५-स्टार सुरक्षा रेटिङ, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ र डिजिटल ककपिटलगायत सुविधा रहेका छन्।
यस्तै, नयाँ टियागो ईभीमा आकर्षक डिजाइन, ३६० डिग्री एचडी क्यामेरा, आधुनिक इन्फोटेनमेन्ट प्रणाली तथा ६ एयरब्यागसहितका सुरक्षा सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।




