काठमाडौं, भदौ ५ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न २७ जिल्लामा बहने स–साना नदी तथा खोल्साहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने तथा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको जनाएको छ।
मंगलबार बिहान जारी गरिएको बाढी पूर्वानुमान बुलेटिनअनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम तथा जाजरकोट जिल्लाका स–साना नदी र खोल्साहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार निरन्तर वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावनाका कारण पहाडी तथा हिमाली भेगका साना जलाधार क्षेत्रमा आकस्मिक बाढी आउने जोखिम बढेको हो। यसले नदी तटीय क्षेत्र, कमजोर भू–भाग तथा पहिरोको जोखिम रहेका स्थानमा थप असर पार्न सक्ने बताइएको छ।
हाल कोशी, नारायणी, कर्णाली, महाकाली लगायत प्रमुख नदीहरूको जलस्तर चेतावनी तहभन्दा तल रहे पनि आगामी तीन दिनसम्म अधिकांश नदी तथा सहायक नदीहरूको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी स–साना खोल्सा, खोँच तथा पहाडी नदीहरूमा अचानक पानीको सतह बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले नदी किनार, तटीय बस्ती तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन, अनावश्यक रूपमा नदी तर्न नजान तथा सम्भावित विपद्का लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ।
मनसुन सक्रिय रहेकाले आगामी दिनहरूमा पनि देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ।




