काठमाडौं, भदौ ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेशपछि बोल्दै न्यौपानेले लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहेको नेपाली कांग्रेसमा आबद्ध हुन पाएकोमा खुशी व्यक्त गरे। देश वर्तमान समयमा विभिन्न चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले मुलुकलाई सही दिशा दिन कांग्रेस नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। यही विश्वासका साथ आफू कांग्रेसमा आबद्ध भएको उनको भनाइ थियो।
न्यौपानेले कांग्रेसमार्फत जनताको सेवा र विकासका काममा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा सभापति थापाले टीका तथा खादा लगाएर न्यौपानेलाई पार्टीमा स्वागत गरेका थिए। उनले पार्टीका नेता तथा कार्यकर्तासँग समन्वय गर्दै संगठन सुदृढीकरण र जनसेवामुखी गतिविधिमा सक्रिय हुन आग्रह गरे।
सभापति थापाले न्यौपानेको प्रवेशले सर्लाही जिल्लामा कांग्रेसको संगठन विस्तार तथा सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।




