रुकुम पश्चिम, भदौ ७ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ स्थित मध्यपहाडी लोकमार्गमा आइतबार बिहान दुई वटा सवारी साधन एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको विद्युतीय गाडी (ईभी) ले मुसिकोट खलङ्गाबाट सुर्खेततर्फ जाँदै गरेको अर्को गाडीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४, बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका आमा–छोरीलाई उपचारका लागि तत्काल सल्लेस्थित जिल्ला अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न विद्युतीय गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




