काठमाडौं, भदौ ७ । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा गर्न सरकारलाई चेतावनी दिँदै भदौ २३ गते ‘स्मृति दिवस’ मनाउने घोषणा गरेका छन्।
जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना माग अविलम्ब सम्बोधन नभए पुनः सडक संघर्षमा उत्रिने चेतावनी दिएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले भदौ २३ गते बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा स्मृति दिवस आयोजना गरिने जानकारी दिए। उनले शहीद परिवार र घाइतेहरूको आर्थिक अवस्था कमजोर रहेकाले उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्चको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरे।
यस्तै, समितिले आगामी असोज १५ गतेदेखि सोही संसद भवनभित्रै सात दिने महायज्ञ सञ्चालन गर्ने योजना रहेको जनाउँदै त्यसको व्यवस्थापन पनि सरकारले नै गर्नुपर्ने बताएको छ।
यसअघि सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गरिसकेको भए पनि कार्यक्रम सञ्चालन र माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै शहीद परिवारले आक्रोश व्यक्त गरेका छन्।




