काठमाडौं, भदौ ८ । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको प्रकरणमा अनुसन्धानका क्रममा खिचिएको संवेदनशील भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी कर्मचारी पक्राउ परेका छन्।
नाबालक आरोपीको बयानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बारा प्रहरीले घटनाबारे आन्तरिक छानबिन थालेको थियो। छानबिनका क्रममा कलैया अस्पतालमा स्वास्थ्यकर्मीले नाबालकसँग सोधपुछ गरिरहेका बेला भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा सम्बन्धित प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिइएको हो।
सार्वजनिक भएको भिडियोमा नाबालकले घटनाबारे बयान दिँदै अन्य व्यक्तिको समेत नाम लिएको देखिन्छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील सामग्री अनुमति बिना सार्वजनिक गर्नु फौजदारी अनुसन्धानको गोपनीयता र प्रहरी आचारसंहिताविपरीत भएको भन्दै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीले पक्राउ परेका कर्मचारीमाथि थप अनुसन्धान गरिरहेको छ। घटनाले बालबालिकासँग सम्बन्धित आपराधिक अनुसन्धानमा गोपनीयता, बाल न्याय र संवेदनशील प्रमाणको सुरक्षित व्यवस्थापनबारे गम्भीर प्रश्नसमेत उठाएको छ।




